
कीर्तिपुर नगरपालिकाले खानाको लागी समस्या भएकाहरुलाई विहिवार चैत्र २७ गतेदेखि राहत वितरण गर्ने भएको छ । राहत वितरण गर्नका लागि आवश्यक खाद्यान्न चैत्र २४ आज सोमवारवाट ल्याएका छन् । आज सोमवार त्यहि मात्रामा कीर्तिपुरमा ७ सय बोरा चामल, त्यस्तै दाल, तेल, नुन, चिनी ल्याएको कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनु भएको छ । उहाँले कीर्तिअनलाईनसंग कुरा गर्दै सो कुरा बताउनु भएको हो । कीर्तिपुर नगरपालिकाले लकडाउनको समयमा वितरण गर्नका लागि ५० लाखको बजेट छुट्याइएकोमा पहिलो चरणका लागि २४ लाखको खाद्यान्न ल्याउने योजना रहे अनुसार भोली मंगलवार फेरी ३ सय बोरा चामल ल्याउने समेत उहाँले बताउनु भयो । जम्मा एक हजार बोरा चामल र त्यहि अनुसारका अन्य खाद्यान्न सहित विहिवार राहत वितरण गर्ने योजना आफूहरुले बताएको बताउदै अहिले सम्म राहतका लागि प्रदेश सरकार र केन्द्र सरकारवाट कुनै पनि सहयोग नआएको बताउनु भयो । नगरपालिकाको बजेटले मात्र नभ्याउने भएका कारण आफूहरुले सार्वजनिक रुपमा नै राहतका लागि आह्वान गरेको बताउदै आज मात्रै शिखरदीप बहुउद्देश्यीय सहकारीले ६० बोरा चामल र त्यहि अनुपाटमा तेल १५० लिटर र दाल १ सय केजि सहयोग गरेको समेत बताउनु भयो ।